काठमाडौं — नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि कार्ड वितरण सुरु गरिएको छ। केन्द्रीय संगठन विभागका अनुसार सबै प्रतिनिधि कार्ड तयार भइसकेका छन् र प्रदेश कमिटीका अध्यक्ष वा सचिवमार्फत बुझाउने प्रक्रिया जारी छ।

संगठन विभागका सचिव माधव ढुंगेलले प्रतिनिधिहरूले आफ्ना प्रदेश नेतृत्वसँग समन्वय गरी कार्ड प्राप्त गर्न सक्ने बताए। बाँकी रहेका कार्डहरू पनि आजै उपलब्ध गराइने उनको भनाइ छ।

ढुंगेलका अनुसार सबै प्रतिनिधिहरूको विवरण ‘अनलाइन अपडेट’ भइसकेको छ र ‘सूर्य एप्स’मा डिजिटल कार्ड उपलब्ध छ।

उनले भने, “कृपया सूर्य एप्स खोल्नुहोस्, तपाईंहरूको डिजिटल प्रतिनिधि कार्ड अपलोड भइसकेको छ। कुनै समस्या आएमा तुरुन्त संगठन विभागमा सम्पर्क गर्नुहोला।”

यसबाहेक, प्रतिनिधिहरूका लागि आवश्यक डोरी र ब्याग पनि कार्यालयमार्फत उपलब्ध गराइने संगठन विभागले जनाएको छ।