काठमाडौं—नेपालमा कार्यकाल सकेर फर्कन लागेका भारतीय राजदूत नविन श्रीवास्तव शनिबार हाइकिङका क्रममा अकस्मात बिरामी परेपछि सेना र प्रहरीले उद्धार गरेका छन्।
शनिबार दिउँसो करिब २:३० बजे दूतावासका दुई जना अधिकारीसहित काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङ गएका राजदूत श्रीवास्तवलाई अचानक छाती दुखेपछि ढलेका थिए।
घटनापछि श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नदीपसिंह ठकुरीको कमाण्डमा ९ जना तथा सशस्त्र प्रहरी बल दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही, कीर्तिपुरबाट इन्स्पेक्टर लोकबहादुर तामाङको कमाण्डमा १७ जनाको टोलीले संयुक्त रूपमा उद्धार गरेको थियो।
उद्धारपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो ४:३० बजे ग्राण्डी अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको उपचार जारी छ र हाल भेन्टिलेटरमा राखिएको छ।
राजदूत श्रीवास्तवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुकहरू अस्पताल पुगिरहेका छन्।



















