काठमाडौं—नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११औँ महाधिवेशनले एकताबद्ध र अझ सशक्त एमाले निर्माण गर्ने दाबी गरेका छन्।

आइतबार महाधिवेशनको उद्घाटनस्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सबैभन्दा बलियो राजनीतिक शक्तिका रूपमा बाहिर निस्कने बताए।

‘एमाले छ्वालीको लौरो होइन, बलियो स्टिलको लौरो हो। यो विविधताबीचको एकरूपता हो। कसैले टाउको दुखाउनु पर्दैन, एमालेको नाममा कसैले कपाल फुलाउनुपर्ने अवस्था छैन,’ बास्कोटाले भने।

उनले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय सहमतिबाटै भएको जानकारी दिए। त्यस्तै, ९९ सदस्यीय पोलिटब्युरो र त्यसको एक तिहाइ संख्यामा स्थायी कमिटी रहने व्यवस्था गरिएको उनले बताए।

‘यो सैद्धान्तिकभन्दा पनि प्राविधिक विषय हो। अध्यक्षले यसरी अगाडि बढौँ भन्नुभयो, विभिन्न कुरा उठे तर कुनै मत–मतान्तर भएन,’ उनले स्पष्ट पारे।

गोदावरीको विधान महाधिवेशन र हालको परिस्थितिमा केही फेरबदल आवश्यक परेकाले व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको बास्कोटाको भनाइ छ।

‘१०औँ महाधिवेशनकै जस्तो संख्या कायम रह्यो। केही पदाधिकारी घटे पनि कुल पदाधिकारी संख्या १९ नै रहनेछ,’ उनले भने।

बास्कोटाले नेतृत्व प्रतिनिधिहरूको सहमतिबाटै टुंग्याउन प्रयास गरिने बताए। सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पार्टीमा कुनै असर नपर्ने उनको धारणा छ।

‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नुपर्छ र मानिन्छ,’ उनले भने।

आफू अध्यक्ष केपी शर्मा ओलीसँग टाढा नभएको स्पष्ट पार्दै बास्कोटाले भने,‘हामी एउटै पार्टीमा छौँ। केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ। त्यसैले कसैलाई सिरानी हालेर हिँड्नुपर्ने अवस्था छैन।’

अधिवेशनका बेला सानातिना विमति आउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले भने, ‘आगो बल्दा धुवाँ निस्किन्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेकै भरमा एमालेमा टुटफुट नहुने उनको दाबी छ। ‘कसैले जित्यो वा हार्‍यो भन्दैमा एमाले विभाजित हुन्छ भन्ने सोच लघुताभाषी चेतना हो,’ उनले भने।

एमाले अध्यक्ष केपी ओलीको चिन्ता कसलाई के बनाउने भन्ने नभई एमालेलाई पहिलो पार्टी बनाउने रहेको बास्कोटाले बताए। त्यसैले पार्टीभित्र पद बाँडफाँटको धन्दामा ओली नलाग्ने उनले स्पष्ट पारे।

बास्कोटाले एमाले चुनावबाट नभाग्ने स्पष्ट गर्दै निर्वाचनका लागि अनुकूल वातावरण बनाउन आग्रह गरे। लुटिएका हतियार फिर्ता ल्याउन, एमाले अध्यक्षमाथि लगाइएको स्थानहद हटाउन तथा राजनीतिक दलहरू सहज रूपमा निर्वाचनमा जान पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।