काठमाडौँ—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशन सकिएसँगै पार्टीभित्र रहेका प्यानल र गुटको अध्याय समाप्त भएको दाबी गरेका छन्।
महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन प्रक्रियामा प्यानल वा स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि मतपरिणाम सार्वजनिक भएसँगै अब सबै एकढिक्का भएको बताए।
‘हिजो चुनावमा लड्दा कोही प्यानलबाट लडियो होला, कोही स्वतन्त्रबाट। तर त्यो हिजै सकियो,’ अध्यक्ष ओलीले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी सबै छौँ। यो प्यानल र त्यो प्यानल भन्ने कुरा छैन, यो देश हाँक्ने एकढिक्का एमाले हो।’
अध्यक्ष ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनलाई विभिन्न कोणबाट सफल महाधिवेशनको रूपमा मूल्यांकन गरे। महाधिवेशनका क्रममा सानातिना कमजोरीहरू देखिए पनि समग्र बहुआयामिक र सर्वपक्षीय सफलताका अगाडि ती कमजोरी गौण रहेको उनको भनाइ थियो।
उनले पार्टीलाई एकताको भावना र नयाँ उचाइका साथ अघि बढाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे।




















