काठमाडौँ—नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजनलाई अस्वीकार गर्ने तर आत्मसमर्पण पनि मन्जुर नहुने स्पष्ट पारेका छन्। एमालेको ११औँ महाधिवेशनपछि आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। अध्यक्ष ओलीले ‘म नै एमाले हुँ’ भन्ने आशयका भनाइ गरेको भन्दै पोखरेलले त्यसलाई उचित नभएको टिप्पणी गरे।
अध्यक्ष ओलीलाई प्रश्न गर्दै उनले भने, ‘म जे बोल्छु, त्यहीँ हो एमाले भनेको सुन्दा पनि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुँदैन भन्ने कुरा के हो?’
पोखरेलले पार्टी नेतृत्वले आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट आन्दोलन नै संकटमा पर्न सक्ने चेतावनी दिए। ‘आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट पार्टी नै सकिन्छ,’ उनले भने।
११औँ महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्मरण गर्दै पोखरेलले विचार र विधिको लडाइँ अझै जारी रहेको बताए। ‘यो सुरुवात हो। अब यसले निरन्तरता पाउँछ। विचार र विधिको लडाइँ जारी रहन्छ,’ उनले भने।
उनले पार्टीलाई बलियो र एकताबद्ध बनाउने दिशामा सबै नेताहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए।






















