काठमाडौँ—माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको नेतृत्वमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ।
संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनमा बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भएको र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ। सामूहिक दबाबपछि नियन्त्रणमा लिइएकाहरूलाई रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी चरित्र उजागर भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप हुनु गम्भीर विषय भएको जनाउँदै शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमन अस्वीकार्य रहेको बताइएको छ। न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि संघर्ष जारी रहने आन्दोलनको अडान छ।
आन्दोलनका माग पूरा नभएसम्म संघर्ष अझ संगठित र सशक्त रूपमा अघि बढाइने जनाउँदै संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध भएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सबै पक्षलाई आह्वान गरेको छ। डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
संयुक्त जेनजी आन्दोलनले नागरिक समाज, विद्यार्थी, श्रमिक, बुद्धिजीवी तथा आम नागरिकलाई लोकतन्त्र र नागरिक अधिकारको संरक्षणका लागि एकताबद्ध हुन आग्रह गरेको छ।





















