सुनसरी —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका पूर्व सभापति तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका जीवन कुमार श्रेष्ठले स्थानीय एक सहकारीको निर्वाचनमा जम्मा २ मत प्राप्त गरेका छन्।
वराहक्षेत्र नगरपालिका–२ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वडा नं. २ भुगोल (शेयर सदस्य) तर्फको सञ्चालक समिति सदस्य पदमा उम्मेदवार बनेका श्रेष्ठले शनिबार सम्पन्न निर्वाचनमा २ मत मात्रै प्राप्त गरेका हुन्।
निर्वाचनमा कुल १ सय मत खसेको थियो। निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईका अनुसार सञ्चालक समिति सदस्य पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। जसमा मीनबहादुर बाँनियाले ६८ मत प्राप्त गर्दै विजयी भएका छन्। अन्य उम्मेदवारमध्ये उद्धव घिमिरेले १६ मत, भरत कुमार शाक्यले १३ मत र जीवन कुमार श्रेष्ठले २ मत प्राप्त गरेका थिए। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, लेखा संयोजक पदमा ज्ञानबहादुर पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन्।
उल्लेखनीय रूपमा, श्रेष्ठ सोही चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पूर्व कर्मचारीसमेत हुन्। उनी प्रस्तावक वा समर्थकको मतसमेत प्राप्त गर्न नसकेको निर्वाचन स्रोतले जनाएको छ।
श्रेष्ठ आगामी निर्वाचनमा रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेको बताइन्छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका उनले ३ हजार १८१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए।




















