उदयपुर—उदयपुरको बेलका नगरपालिका–३ किराँत चोकमा श्रीमानले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बेलका–३ निवासी खगेन्द्र राईले आपसी झैँ–झगडाका क्रममा आफ्नी श्रीमती गंगा राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते गंगालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

प्रहरीका अनुसार श्रीमतीलाई छुरा प्रहार गरेपछि खगेन्द्र राईले आफैंले पनि शरीरका विभिन्न भागमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। स्थानीयवासीले उनलाई देखेर तत्काल नियन्त्रणमा लिई उपचारका लागि धरान पठाएका हुन्।

हाल खगेन्द्र राईको उपचार प्रहरीको निगरानीमा भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।