डोल्पा—डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करोपगार्ड इलाका प्रहरी कार्यालयमा भएको तोडफोड घटनापछि सम्पर्कविहीन भनिएका सबै प्रहरी सुरक्षित अवस्थामा सम्पर्कमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार हातहतियार सुरक्षित राख्ने उद्देश्यले केही प्रहरी अस्थायी रूपमा सुरक्षित स्थानमा बसेका थिए। अवस्था सामान्य भएपछि उनीहरू शनिबार राति नै सम्पर्कमा आएका हुन्।

घटना शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङका क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएपछि चर्किएको हो। शनिबार साँझ आक्रोशित स्थानीयवासीले प्रहरी चौकीमाथि आक्रमण गर्दा भौतिक क्षति हुनुका साथै केही प्रहरी घाइते भएका थिए ।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारको आशंकामा छेप्के पुलमा जाँच गर्न खोज्दा रोकाया आफैं नदीमा हामफालेका थिए। तर स्थानीयवासीले भने प्रहरीले लखेट्दा उनी नदीमा खसेको आरोप लगाएका छन्। रोकायाको अवस्था हालसम्म अज्ञात छ र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। साथै, करोपगार्ड प्रहरी चौकीका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ भने घटनासँग प्रत्यक्ष जोडिएका चार जना प्रहरीमाथि अनुसन्धान भइरहेको छ।

यस घटनाको विरोधमा स्थानीयवासीले डोल्पामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए ।