काठमाडौं— राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने करिब निश्चित भएको छ। सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्।
लेखकले कांग्रेस र एमालेले ७–७ सिट, नेकपा (माओवादी केन्द्र) ले ३ सिट र जसपा नेपालले १ सिट लिनेगरी तालमेलको तयारी भएको बताए। “संख्यामा लगभग टुंगिएको छ, अब क्लस्टरको टुंगो लाग्न बाँकी छ,” उनले भने।
लेखकका अनुसार साँझसम्म सबै विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। यद्यपि सिट संख्यामा नेकपा र जसपाले अझै पूर्ण चित्त नबुझाएको उनले बताए। कांग्रेसले सुरुमा ८ सिट मागे पनि ७ सिटमै सहमति जनाएकाले नेकपालाई पनि चित्त बुझाउन नेताहरूले आग्रह गरिरहेका छन्। नेकपाले ४ सिट र जसपाले २ सिट माग गरेको जनाइएको छ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १८ सिट का लागि निर्वाचन हुँदैछ। निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ताको समय तोकेको छ। तालमेल अन्तिम रूप लिने क्रममा क्लस्टर व्यवस्थापन निर्णायक हुने देखिएको छ।



















