काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन बन्दसूचीमा रहेका सचिन ढकालको उम्मेदवारीका लागि आवश्यक उमेर नपुगेको खुलेको छ। निर्वाचन आयोगले कागजात जाँच गर्ने क्रममा ढकालको उमेर २५ वर्ष नपुगेको पत्ता लगाएपछि उनी अयोग्य ठहरिएका हुन्।

समानुपातिक उम्मेदवार बन्न संविधान र कानुनअनुसार कम्तीमा २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। आयोग स्रोतका अनुसार उक्त तथ्य खुलेपछि रास्वपालाई औपचारिक रूपमा पत्राचार गरिएको थियो।

यसअघि ढकालले सामाजिक सञ्जालमार्फत “व्यक्तिगत कारण” देखाउँदै बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए। तर पार्टी र आयोगबीचको पत्राचारपछि उमेरकै कारण उनी अयोग्य ठहरिएको तथ्य सार्वजनिक भएको हो।

ढकाल रास्वपाको बन्दसूचीमा खस–आर्य समूहअन्तर्गत दोस्रो नम्बरमा राखिएका थिए। उनलाई काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपासँग एकीकरण गरेका बालेन्द्र साहको सिफारिसमा सूचीमा समावेश गरिएको बताइएको छ। प्रख्यात व्यवसायी चन्द्र ढकालका छोरा ढकाल पर्यटन तथा आतिथ्य व्यवसायमा संलग्न छन्।

व्यवसायीक पृष्ठभूमिका युवालाई राजनीतिक योगदानबिना नै बन्दसूचीमा प्राथमिकतासाथ राखिएको भन्दै यसअघि नै पार्टीभित्र र बाहिर आलोचना भइरहेको थियो। उमेर नपुगेको विषय सार्वजनिक भएसँगै रास्वपाको उम्मेदवार छनोट प्रक्रियामाथि थप प्रश्न उठेको छ।