काठमाडौं—नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला काठमाडौंको कोटेश्वरमा जलाइएको छ। पार्टी नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै उनका समर्थकहरूले पुत्ला दहन गरेका हुन्।

निधि समर्थकहरूको दाबीअनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका नेता विमलेन्द्र निधिविरुद्ध दुर्व्यवहार भएको थियो। सो घटनाको विरोधस्वरूप काठमाडौंको कोटेश्वरसहित जनकपुरमा पनि प्रदर्शन गरिएको छ।

सानेपास्थित पार्टी कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर कार्यकर्ताहरूले निधि लिंक रोडबाट कार्यालय प्रवेश गर्ने क्रममा अवरोध पुर्‍याएको र सोही क्रममा दुवै पक्षबीच चर्काचर्की भएको बताइएको छ।

निधि समर्थक युवाहरूले नेतामाथि गरिएको भनिएको दुर्व्यवहार अस्वीकार्य रहेको भन्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरेका छन्। यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको संकेत दिएको छ।