काठमाडौं—रूसले भेनेजुएलाबाट तेल बोकेर उत्तरतर्फ गइरहेको प्रतिबन्धित तेल ट्याङ्कर मारिनेरा को सुरक्षाका लागि पनडुब्बी र अन्य नौसैनिक जहाजहरू तैनाथ गरेपछि अमेरिका–रूसबीचको तनाव थप चर्किएको छ। अमेरिकी तटरक्षकले ट्याङ्करलाई पछ्याइरहेका बेला रूसले प्रत्यक्ष रूपमा हस्तक्षेप गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०२५ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि दबाब बढाउन तथाकथित “छायाँ फ्लीट” विरुद्ध कडा कदम घोषणा गरेका थिए। यही अभियानअन्तर्गत अमेरिकी तटरक्षकले भेनेजुएलामा कच्चा तेल लोड गरिरहेको बेला बेला–१ ट्याङ्करलाई रोक्ने प्रयास गरेको थियो। तर चालक दलले जहाजमा चढ्न नदिएपछि ट्याङ्कर उत्तरतर्फ भागेको बताइएको छ।

पछ्याइरहँदा ट्याङ्करले आफ्नो नाम परिवर्तन गरी मारिनेरा राख्यो, रूसी झण्डा फहरायो र रूसी दर्ता लिएको दाबी गरियो। हाल यो जहाज आइसल्याण्डबाट करिब ३०० माइल दक्षिणमा रहेको र रूसी बन्दरगाह मुर्मन्स्कतर्फ जाँदै गरेको जनाइएको छ।

अमेरिकी तटरक्षकले पछ्याउन नछाडेपछि रूसले कडा प्रतिक्रिया जनाउँदै ट्याङ्करको एस्कर्टका लागि पनडुब्बी र अन्य नौसैनिक सम्पत्ति तैनाथ गरेको हो। रूसी सरकारी सञ्चारमाध्यम आरटीले ट्याङ्करबाट खिचिएको भिडियोसमेत सार्वजनिक गरेको छ, जसमा अमेरिकी जहाज पछाडि लागिरहेको देखिन्छ।

Untitled design (21)छायाँ फ्लीट के हो?

छायाँ फ्लीट भन्नाले पुराना, अस्पष्ट स्वामित्व भएका ट्याङ्करहरूलाई बुझिन्छ, जसले प्रतिबन्धित देशहरू—जस्तै रूस, इरान र भेनेजुएलाबाट—तेल ढुवानी गर्छन्। यी जहाजहरूले प्रायः आफ्नो AIS (स्वचालित पहिचान प्रणाली) बन्द गर्ने वा नक्कली स्थान देखाउने (AIS स्पूफिङ) गर्छन्। सयौं जहाज मिलेर बनेको यो नेटवर्कले प्रतिबन्धबाट जोगिँदै तेल व्यापार जारी राख्न मद्दत गरिरहेको बताइन्छ। मारिनेरा ट्याङ्कर यसअघि इरानी र भेनेजुएलाको तेल चीन पुर्‍याएको र २०२४ देखि अमेरिकी प्रतिबन्धमा परेको थियो।

प्रत्यक्ष युद्धको संकेत?

विश्लेषकहरूका अनुसार रूसले ट्याङ्कर जोगाउन पनडुब्बी र युद्धपोत तैनाथ गर्नु असामान्य र उत्तेजक कदम हो। यद्यपि यसलाई तत्काल प्रत्यक्ष युद्धको तयारी भनेर ठोकुवा गर्न नसकिने उनीहरूको भनाइ छ। तर उत्तरी एट्लान्टिकमा देखिएको यो घटनाले दुई महाशक्तिबीचको सैन्य टकरावको जोखिम बढाएको भने स्पष्ट छ।

रूसी पनडुब्बी वा युद्धपोतको नाम र विशिष्टता सार्वजनिक गरिएको छैन। ती जहाजहरू रूसको उत्तरी फ्लीटअन्तर्गतका हुन सक्ने अनुमान गरिए पनि आधिकारिक पुष्टि भएको छैन। घटनाक्रमले विश्व राजनीति र समुद्री सुरक्षामा नयाँ तरंग पैदा गरेको छ। आजतक