काठमाडौँ—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न व्यक्ति नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधीको संज्ञा दिएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त घटनालाई कुनै तात्कालिक प्रतिक्रिया नभई आठदेखि दश वर्षअघिदेखि योजनाबद्ध रूपमा तयार गरिएको कार्य भएको दाबी गरे।
उनले जेन–जी पुस्ता उक्त घटनामा संलग्न नरहेको उल्लेख गर्दै देश जलाउने कामलाई कुनै आन्दोलनको रूपमा स्वीकार गर्न नसकिने बताए।
“यो तात्कालिक घटना होइन, आठ/दश वर्षदेखिको तयारी हो। देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्,” अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले बेहोस पारिएका, बहकाइएका तथा आत्मा किनिएका–बेचिएका तत्वहरूले यस्ता गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै यसलाई नेपाली आचरण, बुद्धि र संस्कृतिसँग मेल नखाने कार्य भएको बताए।
उनले संसद् भवन, सरकारको मुख्यालय तथा सर्वोच्च अदालतलगायतका संवेदनशील सरकारी निकायहरू लक्षित गरी आगजनी गरिएको उल्लेख गर्दै त्यसका पछाडि सुनियोजित योजना रहेको दाबी गरे।
“संसद् भवन, सरकारको मुख्यालय, सर्वोच्च अदालत जलाउने काम भएको छ। खोजी–खोजी त्यही ठाउँ जलाइएको छ जहाँ खास व्यक्तिका मिसिल छन्। ट्रेन मान्छे परिचालन गरिएको छ, कार्यालय र घरसम्म लोकेट गरिएको छ,” अध्यक्ष ओलीले बताए।



















