काठमाडौं—ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । उनले सरकारबाट बाहिरिने अन्तिम तयारी गरिरहेको निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसँग आबद्ध भएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेपछि घिसिङले राजीनामाको निर्णय लिएको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा जोडिएपछि पदबाट बाहिरिने सोचमा थिए ।
निकट स्रोतका अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भइसकेको भए पनि त्यसको औपचारिक कार्यान्वयन हुन बाँकी छ । स्रोतले भन्यो, “त्यसैले उहाँले आफू कुनै पार्टीको सदस्य नभएको बताउँदै आउनुभएको थियो । तर अनावश्यक दबाब सिर्जना भएपछि निर्णय लिन बाध्य हुनुभयो ।”
घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा सहभागी हुने तयारीमा छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने योजना बनाएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने उनले यसअघि नै बताउँदै आएका थिए ।
रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनयता घिसिङले कुनै पनि राजनीतिक भेटघाट गरेका छैनन् । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई समेत उनले भेट नदिएको जनाइएको छ ।
यस विषयमा औपचारिक जानकारी दिन घिसिङले आज राति ९ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।



















