सिन्धुपाल्चोक—बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ आत्मनिर्भर बन्ने सपना बोकेर तीन वर्षअघि काठमाडौं आएका थिए । गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारीमा थिए ।
पुतलीसडकस्थित फूपुको घरमा बस्दै आएका योगबहादुरसँग दाजु रामकृष्ण श्रेष्ठको दैनिकजसो फोन सम्पर्क हुन्थ्यो । दाजुभाइबीच भविष्य र पारिवारिक समृद्धिका विषयमा नियमित छलफल हुने गर्थ्यो ।
गत भदौ २३ गते काठमाडौंमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गर्दै प्रदर्शन भएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । त्यस घटनापछि भोलिपल्ट काठमाडौंसहित देशभर विरोध प्रदर्शन फैलियो ।
भदौ २४ गते भएको विरोध प्रदर्शनमा योगबहादुर पनि सहभागी भएका थिए । गौशालाचोक नजिक घटनाका क्रममा उनी घाइते भएका रहेछन् र उपचारको क्रममा उनको निधन भएको परिवारले पछि मात्र थाहा पायो ।
भदौ २४ गते दिउँसो करिब २ बजे दाजु रामकृष्णले भाइलाई फोन गर्दा फोन उठे पनि आवाज चिनजानको थिएन । फोन उठाउने व्यक्तिले योगबहादुरलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको जानकारी दिएपछि परिवार आत्तियो । रातभर काठमाडौंका विभिन्न अस्पतालमा खोजी गर्दा पनि केही पत्ता लागेन । पछि त्रिवि शिक्षण अस्पतालको शवगृहमा योगबहादुरको शव भेटिएको रामकृष्णले बताए ।
‘भ्रष्टाचारमुक्त देशको माग गर्दै सडकमा उत्रिएका भाइले ज्यान गुमाउनुपर्यो,’ रामकृष्णले भावुक हुँदै भने, ‘परिवार शोकमा डुबेको छ, तर उनको बलिदान खेर नजाओस् भन्ने चाहना छ ।’
योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । जेनजी आन्दोलनमा सहभागी भएको जानकारी परिवारलाई घटना भएपछि मात्र थाहा भयो । ‘हामीलाई ऊ कोठामै होला भन्ने लागेको थियो, यस्तो घटना होला भन्ने कल्पनासमेत थिएन,’ दाजु रामकृष्णले भने ।
गाउँमै रहँदा पनि योगबहादुर सामाजिक सेवामा सक्रिय थिए । विपन्न र उपचार नपाएर ज्यान गुमाएका नागरिकका घटनाले उनलाई चिन्तित बनाउने गर्थ्यो । परिवारका अनुसार आमाबुबालाई सुखी बनाउने सपना नै उनको मुख्य लक्ष्य थियो ।
भाइको मोबाइल र परिचयपत्र साथमा नहुँदा अस्पतालले तत्काल पहिचान गर्न नसकेको परिवारको गुनासो छ । भदौ २५ गते बिहानै आमाबुबासहित परिवार काठमाडौं आएर अस्पताल–अस्पताल खोजी गर्दै अन्ततः शिक्षण अस्पतालमा शव फेला पारेका थिए ।
रामकृष्णका अनुसार सहिद परिवारले व्यक्तिगतभन्दा पनि सामूहिक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । ‘यति ठूलो बलिदान पुरानै प्रणाली दोहोर्याउनका लागि होइन,’ उनले भने, ‘निर्वाचनबाट नयाँ शक्ति आउनुपर्छ ।’
जेनजी आन्दोलनको पृष्ठभूमिमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले ‘जेनजी सुशासन योद्धा’ घोषणा गरेको छ । सहिद परिवारलाई राहतस्वरूप १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ भने रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना पनि अघि बढाइएको छ ।



















