काठमाडौं —सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर छानबिनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) मा उजुरी परेको छ । सिन्धुलीका युवराज सफलले मन्त्री गुप्तामाथि मानव तस्करीसम्बन्धी गम्भीर आरोप लगाउँदै आज उजुरी दर्ता गराएका हुन् ।
दर्ता नम्बर सी–०३७१५९ रहेको उजुरीमा मन्त्री गुप्ता अमेरिकी सरकारको अभिलेखमै नभएको कार्यक्रममा सहभागी हुन लागिएको उल्लेख गरिएको छ । सफलका अनुसार आफू अमेरिकन युथ काउन्सिलको सदस्य भएको हैसियत दुरुपयोग गर्दै मन्त्री गुप्ताले नक्कली आयोजक र कृत्रिम कार्यक्रम देखाएर नेपाली नागरिकलाई सामूहिक रूपमा अमेरिका लैजाने प्रयास गरेका छन्, जुन संगठित मानव तस्करीको संकेत हो ।
उजुरीमा भनिएको छ,
“नक्कली आयोजक, नक्कली निमन्त्रणापत्र तयार गरी आफू मात्र नभई समूहगत रूपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित मानव तस्करी हो । त्यसैले सम्बन्धित सम्पूर्ण कागजात झिकाई मन्त्री बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा अनुसन्धान गरी दोषी देखिए हदैसम्म कारबाही गरियोस् ।”
सफलले मन्त्री गुप्तालाई पदबाट निलम्बन गर्न पनि माग गरेका छन् ।
मन्त्री गुप्ता ‘Role of NRNA Youth in the Development of Nepal: Post Gen-Z Revolution’ शीर्षकको कार्यक्रममा सहभागी हुन आउँदो माघ ३ गते अमेरिका जाने तयारीमा छन् । उनको भ्रमणलाई गत पुस २२ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ ।
तर अमेरिकी सरकारको आधिकारिक अभिलेखमै नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित, गैरजिम्मेवार र सार्वजनिक पदको दुरुपयोग भएको सफलको ठहर छ ।



















