काठमाडौँ — नेकपा (एमाले) ले पार्टीको आन्तरिक जीवन सुदृढ गर्दै आगामी कार्यदिशा स्पष्ट पार्ने उद्देश्यसहित ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन–१’ (सर्कुलर) मातहतका कमिटीहरूमा पठाएको छ।
बुधबार जारी सर्कुलरमा महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्याउने, संगठन विस्तार, युवा परिचालन तथा नेताहरूको कार्यविभाजनसम्बन्धी विस्तृत योजना समेटिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ।
युवा केन्द्रित अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने समिक बडाल सह–संयोजक रहेका छन्।
यस्तै, सातै प्रदेशमा युवा परिचालनका लागि छुट्टाछुट्टै संयोजकहरू तोकिएका छन्। जसअनुसार कोशीमा मनोज ताम्ली, मधेसमा मोविन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरा संयोजक तोकिएका छन्।
यसैगरी पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी तथा अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।
सर्कुलरमा भनिएको छ, “जुनसुकै अवस्थामा पनि निर्वाचनमा जान पार्टी पङ्क्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ।”
पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारलाई प्रभावकारी बनाउन ‘डिजिटल क्याम्पियन’ अभियानलाई वडा तहसम्म विस्तार गर्ने योजना समेत ३३ पृष्ठ लामो सर्कुलरमा विस्तृत रूपमा उल्लेख गरिएको छ।



















