काठमाडौं—गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आयोजनामा अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम तय नभएको जनाएको हो। विज्ञप्तिमा संघको नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम आयोजना गर्ने र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको सम्बन्धमा विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
एनआरएनए एनसीसी यूएसएले संस्थाको आधिकारिक स्वीकृति बिना आयोजना गरिने कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डरेजिङ गतिविधि अवैध र अमान्य हुने स्पष्ट पारेको छ। साथै, यस्ता गतिविधिप्रति सचेत रहन सबै सरोकारवालालाई आग्रह गरेको छ।



















