काठमाडौं—चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने बताएकी छन् ।
विभिन्न सरोकारवालासँग छलफल तथा सामाजिक सञ्जालमार्फत गरिएको मत सर्वेक्षणपछि आफू चुनावी राजनीतिमा होमिन तयार भएको आशिकाले जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै उनले सकारात्मक सुझावसँगै आलोचनात्मक तथा नकारात्मक प्रतिक्रिया पनि आएको उल्लेख गरेकी छन् ।
‘यी सबै सुझाव, व्यवहार र विचारलाई म समान रूपले सम्मान गर्छु,’ उनले लेखेकी छन्, ‘यिनै अनुभव र जनभावनालाई मनन गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु ।’
आशिकाले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पारेकी छन् । ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु,’ उनले भनेकी छन् ।
विशेष गरी जेन–जी पुस्ताले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई संसदभित्र सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता महसुस गर्दै यो निर्णयमा पुगेको आशिकाको भनाइ छ । उनका अनुसार अब जनताको आवाज सडकमा मात्र होइन, सदनभित्र पनि बलियो रूपमा गुञ्जिनुपर्छ ।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित रहेको उल्लेख गरेकी छन् ।
‘युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले भनेकी छन्, ‘“हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ” भन्ने तपाईंहरूको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन ।’
आशिकाले आफ्नो चुनावी यात्राका लागि तीन मुख्य अठोटसमेत सार्वजनिक गरेकी छन् ।
– युवा पुस्ताको भावनाको कदर – सडकदेखि सदनसम्म जनसरोकारका मुद्दाको उठान – भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ



















