काठमाडौं—युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिकामा आधिकारिक कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्पष्ट पारेको छ। एनआरएनएले विज्ञप्ति जारी गर्दै विकास उप्रेतीको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) र सत्येन्द्र शाहको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए) बीच आपसी समन्वयको अभावका कारण भ्रम सिर्जना भएको जनाएको हो।

संघका अनुसार दुई फरक–फरक विज्ञप्ति सार्वजनिक हुँदा सञ्चार माध्यम तथा नेपाली समुदायमा भ्रम र अन्योल उत्पन्न भएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा भनिएको छ, “यसबाट माननीय मन्त्रीज्यू, सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।”

एनआरएनएले विकास उप्रेतीको अध्यक्षतामा गठित एनसीसी युएसएले औपचारिक कार्यक्रमका लागि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आमन्त्रण गरेको स्पष्ट पारेको छ। संघभित्र देखिएको विवाद समाधानको दिशामा रहेको उल्लेख गर्दै संस्थागत मर्यादा, पारदर्शिता र जिम्मेवार सञ्चारप्रति प्रतिबद्ध रहेको जनाएको छ।

विज्ञप्तिमा संघले भनेको छ कि गैरआवासीय नेपाली संघ नेपाली डायस्पोराको प्रतिनिधि संस्था भएकाले नेपालको बदलिँदो राजनीतिक–सामाजिक अवस्था तथा पछिल्लो ‘जेनजी आन्दोलन’पछि उत्पन्न राष्ट्रिय परिस्थिति र सम्भावनाका सन्दर्भमा नेपाली समुदायसँग प्रत्यक्ष अन्तर्क्रिया र विचार–विमर्शका लागि मन्त्री गुप्तालाई औपचारिक रूपमा आमन्त्रण गरिएको हो।

संघका अनुसार मन्त्री गुप्ता अमेरिकामा आयोजना हुने ‘जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी हुनेछन्। उक्त कार्यक्रममार्फत उनले आफ्ना विचार, अनुभव तथा नीतिगत दृष्टिकोण प्रस्तुत गर्दै विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग सशक्त रूपमा जोड्ने विश्वास आयोजकले लिएको छ।

संघले आगामी दिनमा आन्तरिक समन्वय र सूचना प्रवाह प्रक्रियालाई थप व्यवस्थित तथा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।