काठमाडौँ— नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्।

चौधरीसँगै नेकपा माओवादी केन्द्रका पूर्वसांसद ठम्मर विष्ट पनि उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्। उनीहरू शनिबार आयोजित कार्यक्रममा उनेपामा प्रवेश गरेका हुन्।

सुर्खेत निवासी विष्ट नेकपा एमालेका मनोनितमार्फत पूर्वकेन्द्रीय सदस्य हुन्। यद्यपि मनोनयनबाट केन्द्रीय सदस्य बनेका उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा भने निर्वाचनमार्फत केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। पार्टीभित्र कार्यकर्तामाझ अपेक्षित समर्थन नपाएको चर्चा त्यतिबेला चलेको थियो।

यसैबीच सामाजिक अभियन्ता डा. नरबहादुर कार्की पनि उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नवनियुक्त पार्टी अध्यक्ष कुलमान घिसिङले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेशसँगै चौधरी, विष्ट र कार्कीलाई उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्य को जिम्मेवारी दिएको जनाएको छ।

यस घटनाक्रमलाई लिएर राजनीतिक वृत्तमा भने पद पाउँदा पार्टी रोज्ने र अवसर नपाउँदा दल परिवर्तन गर्ने प्रवृत्ति बारे विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन्।