काठमाडौँ— नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न आज त्रिपक्षीय वार्ता हुँदैछ। पार्टीभित्र एकता कायम गर्ने उद्देश्यसहित विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच वार्ता हुन लागेको हो।
वार्ताका लागि वार्ता समितिका सदस्यहरू लाजिम्पाटस्थित एक नेताको निवासमा भेला हुने क्रम जारी रहेको छ। विशेष महाधिवेशन पक्षधरको तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे र मधु आचार्य सहभागी हुनेछन्। शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुँदैछन्।
संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व नलिएपछि सोमबार महामन्त्रीद्वयले कार्यबहाक सभापति पूर्णबहादुर खड्कासमक्ष आफ्नो बटमलाइन पेश गरेका थिए।
यसैबीच, संस्थापन पक्षले आज दिउँसो कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। तर विशेष महाधिवेशन पक्षधरले उक्त बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।
आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भेला भएका विशेष महाधिवेशन पक्षधरले कार्यसम्पादन समितिको बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्। त्यसअघि पार्टीको आन्तरिक विवाद समाधान गर्ने प्रयासस्वरूप केहीबेरमै त्रिपक्षीय वार्ता सुरु हुन लागेको हो।




















