काठमाडौं— प्रविधिको दुरुपयोग गर्दै एसएमएसमार्फत् लाखौँ नागरिकलाई बालुवाटार उपस्थित हुन आह्वान गर्ने राजावादी अभियन्ता निर्देश सेढाईँ पक्राउ परेका छन्।

चितवन घर भएका सेढाईँलाई प्रहरीले गएराति काठमाडौंको हात्तिसार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले नेपाल टेलिकमको गेटवे दुरुपयोग गरी पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आग्रह गर्दै करिब ५० लाख एसएमएस पठाएका थिए।

उनले पठाएको सन्देशमा ‘नेपालका सबै समस्याहरूको सँधैका लागि मुक्तिका निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचनासहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु’ भन्ने व्यहोरा उल्लेख थियो। सोही दिन बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय घेराउ गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘एट अलर्ट’ शीर्षकसहित आएको उक्त सन्देश देखेपछि कतिपय नेपाल टेलिकमका प्रयोगकर्ताले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले दुई दिनसम्म अनुसन्धान गरी सेढाईँले टेलिकमको गेटवे दुरुपयोग गरी आफूखुशी एसएमएस पठाएको पुष्टि गरेको हो।

तर, सर्वसाधारणको मोबाइल नम्बरसम्बन्धी डाटा उनले कहाँबाट प्राप्त गरे भन्ने विषय अझै खुल्न सकेको छैन। एक आईटी विज्ञका अनुसार यस्तो प्रकारको डाटा गृह मन्त्रालय वा वित्तीय संस्थाहरू (बैंक) सँग मात्रै सीमित हुने गर्दछ। सेढाईँले उक्त डाटा कसरी प्राप्त गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।