काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको बन्दसूचीमा गरिएको महत्वपूर्ण संशोधनका क्रममा आदिवासी जनजाति महिलाको क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोमको नाम हटाइएको खुलेको छ।

रास्वपाले केही दिनअघि बन्दसूचीमा व्यापक संशोधन गर्दा टासीको नाम झिकिएको निर्वाचन आयोग तथा पार्टी स्रोतले पुष्टि गरेका छन्। उनको नाम हटाइनुको स्पष्ट कारण सार्वजनिक रूपमा खुलाइएको छैन। यद्यपि, उनीसँग सम्बन्धित गम्भीर विवादास्पद विषयका प्रमाण आएपछि यो निर्णय लिइएको रास्वपा स्रोतको दाबी छ।

कानूनतः उम्मेदवार स्वयंले नाम फिर्ता लिन निवेदन दिएको अवस्थामा बाहेक बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ। रास्वपाको बन्दसूचीमा रहेका केही उम्मेदवारले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिने घोषणा गरे पनि आयोगमा औपचारिक निवेदन नपरेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

तर, रास्वपाले आफ्नै निर्णयमा बन्दसूचीमा फेरबदल गरेको आयोग स्रोतको भनाइ छ। फिर्ता हुन नचाहेका केही उम्मेदवारसमेत बन्दसूचीबाट हटाइएपछि संशोधित सूची हालसम्म सार्वजनिक नगरिएको पार्टी स्रोतको दाबी छ।

टासी ल्हाजोमको हकमा भने उनी स्वयं फिर्ता हुन नचाहेकी बताइएको छ। उनीसँग सम्बन्धित विवादित विषयबारे रास्वपाले निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगका पदाधिकारी नाम हटाउन सहमत भएको स्रोतको भनाइ छ। टासीले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै हालै पार्टी कार्यालय पुगेर सभापति रवि लामिछानेलाई भेटेकी थिइन्।

लाभको पद नजिक पुगेर टासीले झट्का खेपेको यो दोस्रो घटना हो। यसअघि उनको नाम सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा चर्चामा आएको थियो। मन्त्री नियुक्ति लगभग टुंगिएको अवस्थामा नागरिकता लगायतका विषय विवादमा परेपछि प्रधानमन्त्री कार्की निर्णयबाट पछि हटेकी थिइन्।

त्यतिबेला राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले टासीलाई तिब्बती शरणार्थी भन्दै उनको नेपाली नागरिकतामाथि प्रश्न उठाएका थिए। जेनजी कर्णालीले उनलाई मन्त्री बनाए बहिष्कार गर्ने चेतावनी दिएको थियो भने संगठनकी अध्यक्ष सुप्रिया शाहीले टासी ‘फ्री तिब्बत’ अभियानसँग संलग्न रहेको आरोपसहित छानबिनको माग गरेकी थिइन्।

टासी रास्वपामा औपचारिक रूपमा प्रवेश गरेर प्राइमरी इलेक्सनमा सहभागी भएकी थिइन् र उल्लेख्य मतसमेत प्राप्त गरेकी थिइन्। जेनजी उमेर समूहकी उनी बन्दसूचीमा प्राथमिकता दिँदै पहिलो नम्बरमा राखिएकी थिइन्। नाम नहटेको भए उनी समानुपातिक सांसद बन्ने सम्भावना निकै बलियो रहेको थियो।