काठमाडौं— नेकपा (एमाले) वाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित वाग्मती प्रदेश स्तरीय विशेष युवा भेला विशेष योजनासहित सफलतापूर्वक सम्पन्न भएको छ ।

भेलाले माघ ४ गते दिउँसो १२ बजे काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना हुने २०औँ हजारको जन–प्रदर्शनलाई सफल बनाउने निर्णय गरेको छ । त्यसका लागि वाग्मती प्रदेशभरबाट व्यापक युवाको सहभागिता सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ ।

भेलामा उक्त जन–प्रदर्शनलाई प्रभावकारी बनाउन संगठनात्मक तयारी, युवा परिचालन तथा जिम्मेवारी बाँडफाँटसम्बन्धी विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ ।

जन–प्रदर्शनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो । भेलाले अध्यक्ष ओलीको उपस्थितिमा हुने कार्यक्रमलाई पार्टीको नीतिगत धारणा र लोकतान्त्रिक अभियानसँग जोडेर प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आयोजकका अनुसार भेलामार्फत युवाहरूलाई लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा राष्ट्रिय स्वाधीनताका सवालमा सक्रिय र संगठित भूमिकामा उभ्याउने उद्देश्य लिइएको छ ।