काठमाडौं— नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्ष निकाल्दै निष्कासनको घोषणा गरेको हो।
बैठकले थापा, शर्मा र मन्सुरललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
उनका अनुसार पार्टी अनुशासन, संगठनात्मक एकता र निर्णय प्रक्रियाविपरीत गतिविधि गरेको ठहर गर्दै उक्त कदम चालिएको हो। निष्कासनसम्बन्धी निर्णय औपचारिक रूपमा कार्यान्वयनमा लगिने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।
कांग्रेसभित्र जारी आन्तरिक विवाद उत्कर्षमा पुगेको यस निर्णयले पार्टी राजनीतिमा ठूलो तरंग ल्याएको छ।




















