काठमाडौं— नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेस विभाजन भएकोप्रति दुःख व्यक्त गरेका छन्। लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको पार्टी विभाजित हुनु दुःखद् भएको बताउँदै उनले कांग्रेसलाई पुनः एकताबद्ध हुन पहल गर्न सुझाव दिएका छन्।
कांग्रेसभित्र देखिएको विवाद पार्टीको विधान, नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कानुनी रूपमा समाधान हुनुपर्ने भट्टराईको भनाइ छ। राजनीतिक वैधता र जनचाहनालाई निर्णयको सर्वोपरि आधार मान्नुपर्ने उल्लेख गर्दै उनले कुनै न कुनै उपायबाट कांग्रेस पुनः एक हुने वातावरण बन्नु आवश्यक रहेको बताए।
उपमहासचिव भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएका बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको प्रसंग पनि स्मरण गराए। संविधानविपरीत उक्त अध्यादेश ल्याएर नेकपा (एमाले) विभाजन गरिँदा देउवा नै प्रधानमन्त्री रहेको भन्दै उनले त्यसलाई ‘तितो स्मरण’ का रूपमा उल्लेख गरेका छन्।
त्यतिबेला एमालेका सांसदहरूले ‘प्रधानमन्त्रीज्यू, कुनै बेला तपाईँलाई पनि यही अवस्था आइपर्ला’ भनेर चेतावनी दिएको प्रसंग पनि भट्टराईले सम्झाएका छन्।




















