आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) ले सूर्य पन्धाकलाई उम्मेदवारका रूपमा अघि सारेसँगै उनको चर्चा चुलिएको छ। धेरैले ‘को हुन् सूर्य पन्धाक ?’ भनेर चासो राखिरहेका बेला, उनीसँग मजदुर नेता भीमज्वाला राईको संवाद र उपलब्ध विवरणका आधारमा उनको छोटो परिचय यहाँ प्रस्तुत गरिएको छ।

राजनीतिक आवद्धता

सूर्य पन्धाक कम्युनिस्ट आन्दोलनमा करिब ५२ वर्षदेखि सक्रिय छन्। तेह्रथुमको जलजलेस्थित शंकर माविमा अध्ययनरत रहँदा शिक्षकहरू पृथ्वीभक्त पोखरेल, शिव ढकाल र नारायण निङलेकुको प्रभावबाट उनी कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भएका थिए।

उनले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेका हुन्। हाल उनी नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन्।

शिक्षा र शैक्षिक पृष्ठभूमि

२०१३ सालमा तेह्रथुमको पौठाकमा आमा कृष्णमाया लिम्बू र बुवा नरबहादुर लिम्बूका तीन छोरामध्ये जेठो सन्तानका रूपमा जन्मिएका पन्धाकले २०३४ सालमा शंकर माविबाट एसएलसी उत्तीर्ण गरेका हुन्।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बीए पूरा गरेपछि, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

शिक्षा क्षेत्रमा योगदान

एसएलसीपछि नै २०३५ सालदेखि शिक्षण पेशामा संलग्न भएका पन्धाकले तेह्रथुम, सुनसरी र मोरङका विभिन्न निमावि तथा माविमा २०४७ सालसम्म अध्यापन गरे।

पछि मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अध्यापन गर्दै सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले। करिब १२ वर्ष अध्यापनपछि २०६० सालमा सेवा निवृत्त भएका हुन्।

त्यसपछि पनि लामो समय धरान–१८ स्थित डिपो माविका प्रमुख प्रशासकीय प्रमुखका रूपमा काम गरे। हाल उनी केन्द्रीय प्रविधि क्याम्पस हातिसार, धरानको सञ्चालक समिति सदस्य भएर शिक्षा क्षेत्रमा निरन्तर योगदान गरिरहेका छन्।

पार्टी कमिटीका जिम्मेवारी

२०३० दशकदेखि नै पार्टीका एक्टिभ ग्रुप, इलाका कमिटी हुँदै अनेरास्ववियू सुनसरीको कोषाध्यक्ष, नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य हुँदै हाल कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन्।

शिक्षण पेशासँगै प्रगतिशील प्राध्यापक संघ, प्राध्यापक संघ (रमाइलो बहुमुखी क्याम्पस) तथा प्रगतिशील लेखक–कलाकार संघमा पनि सक्रिय रहेर काम गरेको अनुभव उनीसँग छ।

बसोबास

२०४९ सालमा तेह्रथुमको पौठाकबाट परिवारसहित मोरङको कानेपोखरी गाउँपालिका–स्थित रमाइलो बसाइँ सरेका पन्धाक परिवार २०६० सालदेखि स्थायी रूपमा धरान उपमहानगरपालिका–१९ मा बसोबास गर्दै आएको छ।

स्वच्छ छवि र राजनीतिक यात्रा

हाल ६९ वर्ष उमेर पुगेका सूर्य पन्धाकलाई स्वच्छ छवि र पारदर्शी जीवनशैलीका बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छ। जीवनको अधिकांश समय शिक्षा, समाजसेवा र वैचारिक राजनीतिमा समर्पित गरेका उनका लागि पार्टीले प्रदान गरेको यो पहिलो संसदीय चुनावी अवसर हो।

प्रस्तुति: भीमज्वाला राई 

No photo description available.