काठमाडौं—नेकपा एमाले र नेपाल परिवार दलबीच आगामी संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा चुनावी सहकार्य गर्ने सहमति भएको छ। दुई दलबीच २०८२ माघ ४ गते आइतबार साँझ फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै सहमति भएको हो।
सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्नेछ भने एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् तथा प्रदेशसभामा सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद् भित्र एमालेको संसदीय दलमा आबद्ध रहने उल्लेख छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूबीच एकता आवश्यक रहेको सहमतिमा उल्लेख गरिएको छ। साथै, नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको जनाइएको छ।
सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन्। सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो।



















