काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नाराभन्दा कामका आधारमा स्थापित नेता भएको उनका समर्थक तथा राजनीतिक विश्लेषकहरूको भनाइ छ। ओलीले प्रतिनिधित्व गरेको झापा–५ मात्र होइन, देशैभर सञ्चालन भएका विकास अभियानको प्रत्यक्ष प्रभाव आफ्नै निर्वाचन क्षेत्रमा समेत स्पष्ट रूपमा देखिन थालेको उनीहरूको दाबी छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि ध्वस्त संरचनाको पुनर्निर्माणमा नेतृत्वदायी भूमिका खेलेका ओलीले छोटो समयमै विद्यालय, आवास तथा सार्वजनिक भवन निर्माणलाई तीव्रता दिएका थिए। त्यस्तै, भारतको नाकाबन्दीका बेला राष्ट्रिय स्वाभिमानका पक्षमा दृढ अडान लिँदै वैकल्पिक मार्गको खोजी र अन्तर्राष्ट्रिय कूटनीतिक पहलमार्फत ‘दादागिरी अन्त्य’को सन्देश दिएको भन्दै उनले जनविश्वास जित्न सफल भएको समर्थकहरू बताउँछन्।

कोभिड–१९ महामारीका बेला विश्वका शक्तिशाली मुलुकसमेत संकटमा परेका अवस्थामा ओली नेतृत्वको सरकारले खोप कूटनीति, स्वास्थ्य पूर्वाधार विस्तार र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेको देखिएको थियो। ‘तुइनमुक्त नेपाल’ अभियान अन्तर्गत जोखिमपूर्ण तुइन हटाएर पुल निर्माण गरिएको कार्यलाई जनजीवनसँग प्रत्यक्ष जोडिएको उपलब्धिका रूपमा लिइन्छ।

ओलीको निर्वाचन क्षेत्रमा सडक, पुल, शहरी पूर्वाधार तथा सेवा सुविधामा उल्लेखनीय सुधार भएको बताइन्छ। पूर्व–पश्चिम राजमार्ग चार लेन विस्तार, सदरमुकाम जोड्ने चौडा सडक, मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग र मदन भण्डारी राजमार्गलाई तीव्रता दिने नीतिले दीर्घकालीन लाभ दिने अपेक्षा गरिएको छ।

रेल र जलमार्गको अवधारणा पनि ओलीकै कार्यकालमा नीतिगत रूपमा अघि बढेको थियो। जयनगर–जनकपुर रेल सञ्चालन, केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन तथा मेची–महाकाली रेल अवधारणाले नेपाललाई नयाँ यातायात युगतर्फ डोर्‍याउने प्रयास भएको विश्लेषकहरू बताउँछन्।

ऊर्जा क्षेत्रमा मेची–महाकाली ऊर्जा सञ्जालको अवधारणा, बंगलादेशसम्म विद्युत् निर्यात सम्झौता, तराई सिँचाइ आयोजना तथा सुरुङमार्ग युगमा प्रवेश गराउने योजनाले उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गरिन्छ।

प्रशासनिक सुधारतर्फ मालपोतजस्ता उच्च भ्रष्टाचार हुने कार्यालयमा अनलाइन प्रणाली, ‘इ–ड्राइभिङ लाइसेन्स’ सेवा, सरकारी जमिन फिर्ता अभियान तथा पूर्वअख्तियार प्रमुखसमेतलाई कारबाहीको दायरामा ल्याउने कदम ओलीको कठोर निर्णय क्षमताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।

हवाई यातायात क्षेत्रमा पनि उल्लेखनीय काम भएको बताइन्छ। दुई अन्तर्राष्ट्रिय विमानस्थललाई सम्पन्न हुने चरणमा पुर्‍याउनु, दर्जनौँ विमानस्थलमा रात्री उडान सक्षम बनाउनु, बन्द विमानस्थल सञ्चालनमा ल्याउनु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र छोटो समयमै स्तरोन्नति गर्नु ओली सरकारका उपलब्धि सूचीमा राखिन्छ।

प्राकृतिक विपत्तिका बेला बारा–पर्सामा आएको हुरीबाट प्रभावित नागरिकका लागि आठ महिनाभित्र करिब ९ हजार घर निर्माण गरी हस्तान्तरण गर्नु तथा किमाथांका, ओलाङचुङगोला र डोल्पाजस्ता दुर्गम क्षेत्रमा सडक र पहुँच विस्तारका लागि निरन्तर अनुगमन गर्नु ओलीको कार्यशैलीको अर्को पक्ष भएको समर्थकहरूको भनाइ छ।

राजनीतिक विश्लेषकहरूका अनुसार केपी शर्मा ओली ‘त्यत्तिकै’ नेता बनेका होइनन्। विकास, राष्ट्रियता र प्रशासनिक सुधारका कामकै कारण उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित भएका हुन्, जसको असर आफ्नै निर्वाचन क्षेत्रदेखि समग्र देशमा देखिन थालेको छ।