झापा—उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा तोडफोड तथा आगजनी गरिएका सरकारी र निजी संरचनाको निरीक्षण गर्दै आफ्नो चुनावी अभियान सुरु गर्ने भएका छन्।

पार्टी क्षेत्रीय समन्वय कमिटी झापा–५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाको अध्यक्ष ओलीले निरीक्षण गर्ने तथा पीडितहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। सो कार्यक्रम आज दमकस्थित इलाका प्रहरी कार्यालयको भवन निरीक्षणबाट सुरु हुने उनले जानकारी दिए।

एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम रहेको छ। आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमक नगरपालिकाका मेयर राम थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यालय, पूर्वमेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नै निवास, नेपाली कांग्रेस दमक नगर कार्यलय, एमाले दमक कार्यालय तथा एमालेका युवा नेता बुद्धि थापाको निवासको निरीक्षण गर्ने योजना बनाइएको छ।

पौडेलका अनुसार आजै दिउँसो १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। अन्य राजनीतिक बैठकका कारण आज निरीक्षण गर्न नसकिएका संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पनि उनले बताए।

जेन–जी आन्दोलनका क्रममा झापा क्षेत्र नं. ५ मा सरकारी र निजी गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए। गौतमका अनुसार कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा रहेका जलेका संरचनाहरू पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरी निरीक्षण गर्ने कार्यक्रम रहेको छ।