पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङमा हालसम्म उम्मेदवारी घोषणा गर्न सकेको छैन। प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबारसम्म मनाङमा जम्मा पाँच जनाले मात्र मनोनयन दर्ता गराएका छन्।

‘समय सकियो। हालसम्म पाँच जनाले मात्रै मनोनयन दर्ता गराउनुभएको छ,’ उनले जानकारी दिए।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छिन्। यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएकी हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले पनि मनोनयन दर्ता गराएका छन्।

मनाङमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने देखिएको छ। एमालेका पोल्देन छोपाङ गुरुङ २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँग पराजित भएका थिए। यसपटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबीच नै मुख्य भिडन्त हुने अनुमान गरिएको छ।

यसैबीच, रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीका अनुसार अनिल गुरुङलाई टिकट दिइएको थियो। ‘उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल अफ छ। साथीहरूसँग बुझ्दा उहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ,’ उनले भने।