काठमाडौं, १० कार्तिक । प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवा अखडामा छापा हानी ‘क्यासिनो किङ’ बलराम सापकोटासहित २५ जना ‘भिआइपी’ जुवाडेलाई पक्राउ गरेको छ ।
गए राति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवा अखडामा छापा मारी उनीहरुलाई दुई करोड ६७ लाख रुपैंयाँ नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा भिआइपी जुवा अखडामा छापा मारिएको जानकारी दिंदै सुवेदीले भने, ‘पक्राउ परेका जुवाडे हाइ प्रोफाइलका हुन्, उनीहरुको नाम कन्फर्म भइरहेको छ ।’
पक्राउ पर्नेमा क्यासिनो किङका रुपमा परिचित बलराम सापकोटा र उनका सहयोगी सोभित सिलवालसहित काठमाडौंका नाम चलेका ब्यापारी र ठेकेदार रहेको जनाइएको छ ।


