• भीमज्वाला राई 

धरान नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट टिकाराम लिम्बू (टिका माङ्लेन) लाई उम्मेदवार बनाएको छ। लामो समयदेखि विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय माङ्लेनलाई एमालेले नयाँ पुस्ताको प्रतिनिधि तथा संगठनबाट खारिएको उम्मेदवारका रूपमा अघि सारेको हो।

टिका माङ्लेनको राजनीतिक यात्रा बाल्यकालमै सुरु भएको देखिन्छ। २०५४ सालको स्थानीय तह निर्वाचनमा उनका बुवा देउकुमार लिम्बू ताप्लेजुङको साविक मामाङ्खे गाविसमा राप्रपाबाट उपाध्यक्षका उम्मेदवार थिए। सो निर्वाचनमा एमाले–राप्रपाबीच गठबन्धन रहेको थियो। बुवाको चुनावी अभियानमा सक्रिय १३ वर्षीय टिका माङ्लेन त्यही बेला एमालेको चुनाव चिह्न सूर्य, पार्टीका नेता–कार्यकर्ताको व्यवहार र जनताप्रतिको सम्मानभावबाट गहिरो रूपमा प्रभावित भएका थिए।

त्यसपछि २०५६ सालमा कक्षा ९ मा अध्ययनरत रहँदा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य बने। त्यही समयदेखि जीवनभर एमालेको विचारमा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

शिक्षा र विद्यार्थी राजनीति

२०४१ साल भदौ २१ गते ताप्लेजुङको साविक मामाङ्खे (हाल श्रीजंघा गाउँपालिका–६) मा जन्मिएका टिका माङ्लेन राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी उत्तीर्ण हुन्। सिनाम माध्यमिक विद्यालयबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्ररत्न क्याम्पसमा अध्ययनका क्रममा विद्यार्थी राजनीतिमा सक्रिय बनेका उनी २०६० सालमा धरानको महेन्द्र बहुमुखी क्याम्पस आएपछि अनेरास्ववियुको विभिन्न संरचनामा रहेर काम गरे।

२०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित भएका माङ्लेन २०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बने। त्यसपछि २०६७ सालमा सुनसरी जिल्ला अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले।

पार्टी राजनीतिमा भूमिका

२०६४ सालमा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरेका माङ्लेन धरान–१० वडा कमिटी सचिव, नगर कमिटी सदस्य तथा सचिवालय सदस्य हुँदै अघि बढे। २०७७ सालदेखि सुनसरी जिल्ला कमिटी सदस्य रहेका उनी २०७८ र २०८१ मा सम्पन्न जिल्ला अधिवेशनबाट पुनः सदस्यमा निर्वाचित भएका छन्।

उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियान तथा २०७३ सालको मेची–महाकाली अभियानमा स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

आन्दोलन, हिरासत र सामाजिक संलग्नता

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्धको आन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर आन्दोलन गर्दा उनी पटक–पटक गिरफ्तारसमेत भएका थिए।

माङ्लेन विभिन्न सामाजिक संस्थामा पनि संलग्न छन्। उनी लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य, किरात याक्थुङ चुम्लुङ धरान सदस्य, ताप्लेजुङ–सुनसरी सरोकार समाज तथा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन्।

नयाँ पुस्ताको प्रतिनिधि

४१ वर्षे टिका माङ्लेनलाई एमालेले संगठन, संघर्ष र वैचारिक निष्ठाबाट खारिएको उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टी नेतृत्वका अनुसार उनीप्रति पार्टीको भरोसा र जनताको आशा दुवै केन्द्रित छ।