दमक— झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय रूपमा खटिएका छन् । चुनावी माहोल तातिँदै जाँदा अध्यक्ष ओली कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा व्यस्त रहेका हुन् ।
जेन–जी आन्दोलनपछि पहिलो पटक गृह नगर दमक पुगेका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका थिए । संगठन सुदृढीकरण, चुनावी रणनीति र स्थानीय मुद्दाका विषयमा केन्द्रित छलफलमा उनले कार्यकर्तालाई उत्साहित पारेका थिए ।
आज बिहानैदेखि पनि अध्यक्ष ओली अगुवा कार्यकर्ता, स्थानीय मतदाता तथा समर्थकहरूसँग भेटघाटमा व्यस्त रहेका छन् । यस क्रममा उनले स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै आफूले अघि सारेका विकास आयोजना तथा योजनाको प्रगतिबारे जानकारी लिएका छन् । दमक र झापा–५ क्षेत्रमा भएका पूर्वाधार विकास, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका योजनाबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ।
यसैबीच, झापा–५ सँग सिमाना जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका छन् । उनले पार्टी अध्यक्ष ओलीको चुनावी अभियानमा साथ दिँदै कार्यकर्ता तथा मतदातासँग संवादमा सहभागी भइरहेका छन् ।
अध्यक्ष ओलीको निरन्तर क्षेत्रीय सक्रियताले झापा–५ मा एमालेको चुनावी माहोल थप सशक्त बन्दै गएको कार्यकर्ताहरूको भनाइ छ।



















