काठमाडौं— अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत ७९ जना पुरुष र एक महिलासहित ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट गरिएकामध्ये केहीको वैध कागजात नपाइएको, केही गैरकानुनी रूपमा बसोबास गरिरहेको तथा केहीले अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएको छ।
डिपोर्ट भई आएका सबै नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो। ब्युरोका अधिकारीहरूले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरी परिवारको जिम्मा लगाएर घर पठाएका छन्।
यसक्रममा, यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको, ठगी गरेको वा मानव तस्करीमा संलग्न रहेको थाहा भए उजुरी दिन ब्युरोले डिपोर्ट भएकाहरूसँग आग्रहसमेत गरेको छ।
यसअघि पनि अमेरिकाले अध्यागमन कानुन उल्लंघन गर्ने नेपाली नागरिकहरूलाई चरणबद्ध रूपमा डिपोर्ट गर्दै आइरहेको छ। पछिल्लो समय डिपोर्ट हुने नेपालीको संख्या बढ्दै जानु चिन्ताको विषय बनेको छ।



















