दमक—नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका सचिव कमलप्रसाद गैरे पुनः पार्टीमै फर्किएका छन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर एमाले त्यागेको बताएका गैरेले बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णय सच्याउँदै एमालेमै रहने प्रतिबद्धता जनाएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिरसमेत फेसबुकमा सार्वजनिक गरेका छन्।
फेसबुक स्ट्याटसमा गैरेले आफू विद्यार्थी जीवनदेखि नै अनेरास्ववियु हुँदै राष्ट्रिय युवा संघ नेपालमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। “केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत् पार्टी छोडेको भनेर लेखेँ, तर गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले नै राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र भएको निष्कर्षमा पुगेँ,” उनले लेखेका छन्।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बोकेको पार्टी एमालेमै आफू हिजो पनि, आज पनि र भोलि पनि रहने स्पष्ट पारेका छन्।
दमक, झापा–५ हुँदै समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै गैरेले आगामी दिनमा पनि पार्टी र संगठनमै रहेर एमालेका उम्मेदवारलाई जिताउने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
“केपी ओलीलाई जिताउनका लागि म यही पार्टी तथा संगठनमा रहँदै यो अभियान पूरा गर्ने संकल्पसहित प्रतिबद्ध छु,” उनले स्ट्याटसमा उल्लेख गरेका छन्।



















