ओखलढुङ्गा— नेकपा (एमाले) ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवाल पुनः पार्टी काममा सक्रिय भएका छन्। प्रतिनिधिसभा निर्वाचनको संघारमा पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको भन्दै जिम्मेवार कार्यकर्ताको हैसियतले चुप लागेर बस्न नसक्ने कारणले आफू एमाले अभियानमा फर्किएको कटवालले बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कटवालले २०४३ सालदेखि तत्कालीन नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियु हुँदै पार्टीका विभिन्न मोर्चामा काम गरेको र जिल्ला अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेको उल्लेख गरेका छन्।
पार्टीभित्र देखिएका विकृति, विसंगति तथा हैकमवादी प्रवृत्तिका कारण १०औँ जिल्ला अधिवेशनपछि अधिकार कुण्ठित हुँदै दबाब र आरोप–प्रत्यारोप बढेपछि जिल्ला कमिटीबाट राजीनामा दिएर केही समय निष्क्रिय बसेको उनले बताएका छन्।
देश निर्वाचनमा प्रवेश गरिसकेको र पार्टीमाथि चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा जिम्मेवार सदस्यका रूपमा पुनः सक्रिय भएको कटवालको भनाइ छ। उनले एमाले नेता–कार्यकर्ता तथा मतदातालाई एकताबद्ध हुन आह्वान गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
हाल बुवाको उपचारका सिलसिलामा काठमाडौंमा रहेका कटवाल जिल्ला फर्किएपछि निर्वाचन परिचालनमा सक्रिय रूपमा लाग्ने बताएका छन्।



















