काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले नयाँ–पुराना सबै दल चुनावमा होमिएको अवस्थामा देश जलाउने र देश बनाउने पक्षबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै नेकपा एमाले देश निर्माणको पक्षमा मैदानमा उत्रिएको बताएका छन्।

सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख राजनीतिक दलका नेताबीच पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै ओलीले सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका प्रचार सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रवृत्तिका कारण पनि पब्लिक डिबेटको आवश्यकता महसुस भएको हुनसक्ने बताएका छन्।

उनले यस निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ दलसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गर्दै देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतको काम र भविष्यको रोडम्यापबारे सार्वजनिक बहस अत्यन्त सकारात्मक हुने बताएका छन्।

‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर हामीले यसअघि के–के गर्‍यौं र अब कसरी काम गर्छौं भन्ने विषय स्पष्ट रूपमा प्रस्तुत गर्न म तयार छु,’ ओलीले लेखेका छन्।

ओलीले चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबैलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न–उत्तर हुने बहस आयोजना गर्न आग्रह गर्दै आफू आफ्ना एजेण्डा राख्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।