सिमकोट—आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हिमपातकै बिच प्रचार अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ ।

 सिमकोट गाउँपालिका‐५ खाद्यकको चौपाडीबाट आफ्नो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिए ।

एमाले निर्वाचन परिचालन कमिटीको बैठकले आजबाट औपचारिक रूपमा प्रचार अभियान थाल्ने योजना अनुसार नै एमालेले आज तल्लो गाउँबाट प्रचारको कामको सुरुवात गरेको एमाले प्रचार प्रसार उपसमितिका संयोजक तीर्थराज बोहराले जानकारी दिए  ।

उनका अनुसार चौपाणीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार दल फडेरा, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी र एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य रावलले संशोधन गरेका थिए ।

यो निर्वाचन देश जलाउने र देश बनाउने बिचको लडाई भएको भन्दै उनले देश बनाउनेहरूको पक्षमा उभिन आह्वान गरेका थिए ।

 एमाले हुम्लाका नेता तथा कार्यकर्तासहित गएका उम्मेदवारले सिमकोट तल्लो गाउँ, र माथिल्लो बजारका स्थानीय र व्यापारीसँग मत माग्दै घरदैलो कार्यक्रम गरेका थिए ।

हिमपातकै बिच सबै वडा कमिटीले बैठकको आयोजना गरी वडा स्तरीय निर्वाचन कार्यालय स्थापना गर्ने र वडा स्तरीय प्रचार अभियानको कार्य योजना बनाउने काम गरिरहेको एमाले  हुम्लाले जनाएको छ । नेपालप्रेस बाट