काठमाडौं—चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । काठमाडाैँकाे धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ का उम्मेदवार बालेन्द्र (बालेन) साहसँग चुनाव प्रचारका लागि शुक्रबार अछाम पुगेका उनी एक्कासी बेहोस भएर ढलेका थिए । लगत्तै नेपाली सेनाको हेलिकोप्टर र प्लेनमा सुर्खेत हुँदै काठमाडौँ ल्याइएका उनको  भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा सिटौलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 

यता, अस्पताल भर्ना भएको ४८ घण्टा बितिसक्दासमेत वास्तविक अवस्था जानकारी नगरेको भन्दै परिवारका सदस्य आक्रोशित थिए । सिटौलालाई ब्रेन ह्यामरेज भएको दावी गरिए पनि उनको गोप्य अंगमा चोट देखिएको परिवारको दावी छ ।

नुवाकोट घर भएका ४४ वर्षीय सिटौला पछिल्लो समय बालेन्द्रकै टिममा रहेर काम गरिरहेका थिए । बालेन्द्रपत्नी सविना काफ्लेको लगानी रहेको भनिएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’मा उनले मिडिया कोर्डिनेटरको भूमिका निभाएका थिए । 

अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको त्यो फिल्म रास्वपा नेता गणेश कार्कीको पटकथामा निर्माण भएको हो । फिल्ममा बालेन्द्रको र्याप गीत पनि समावेश थियो । 

अछाममा सिटाैलामाथि के भएकाे हाे ? त्यसबारे उनै निर्देशक घिमिरेलाई विस्तृत जानकारी भएकाे कतिपयकाे दावी छ । यद्दपि, बालेनसँगै हिँडिरहेका पाँडेले अहिलेसम्म मुख खाेलेका छैनन् । 

स्मरण रहोस्, यसअघि ०८० बैशाखमा भएको उपनिर्वाचनका बेला पनि रास्वपा सभापति रवि लामिछानेसँगै चुनाव प्रचारमा हिँडेका दिलबहादुर थापाको निधन भएको थियो । रविका ड्राइभर उनी राती सुतेको घरको छतबाट खसेको भनिए पनि उक्त घटना शंकाश्पद ठान्नेहरु धेरै छन् । 

३९ वर्षीय थापालाई चितवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याएर गुपचुप उपचार गरिएको थियो । सिटौलाको निधनलाई कतिपयले पुरानो घटनासँग जोडेर टिप्पणी गर्न थालेका छन् ।जन आस्थामा समाचार छ ।