काठमाडौँ— नेपाली कांग्रेसबाट जितेका सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सोमबार सिन्धुलीमाढीस्थित पोखरेलको निवासमा छापा मारेको हो ।
छापाका क्रममा अख्तियारको टोलीले मेयर पोखरेलसँग सोधपुछ समेत गरेको जनाएको छ । सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउने क्रममा निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरिएको भन्ने उजुरी परेपछि आयोगले उक्त विषयमा छानबिन थालेको हो ।
सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको विषयमा अख्तियारको टोलीले घरमै पुगेर सोधपुछ गरेको जनाइएको छ ।
अख्तियारका एक अधिकृतले बताएअनुसार छापाका क्रममा मेयर पोखरेलको घरमा काठ फेला परेको छैन । ती अधिकृतले भने, “उहाँको घरमा काठ भेटिएन, तर अनुसन्धान जारी छ ।”रातोपाटी



















