रौतहट–रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ।
इशनाथ नगरपालिका–४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार दिउँसो करिब २:३० बजे मृत्यु भएको हो। चुनावी प्रचारका क्रममा मत माग्न जाँदै गरेको बा १५ च ४२४४ नम्बरको कारले तीव्र गतिमा आएर बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
बालिकाको मृत्यु भएपछि चालक अस्पतालबाटै फरार भएको र ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो। फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



















