काठमाडौं—महानगरमा रहँदा सबै बेठिक, उम्मेदवार बनेपछि ठीक । प्रसंग हो, काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेको । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–३, का उम्मेदवार उनको दोहोरो चरित्र देखिन थालेपछि आलोचना शुरु भएको छ । 

उनको ‘देखाउने र चपाउने’ दाँत अलग्गै भएको आरोप लाग्न थालेको हो । पाण्डे अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । त्यस क्रममा उनको एउटा भिडिओ भाइरल भएको छ । जसमा उनी रास्वपा नेता–कार्यकर्तासँगै भोट माग्दै घरदैलो गरिरहेका देखिन्छन् । पाण्डेले लगाएको खादा विवादमा तानिएको छ । 

महानगरमा हुँदासम्म विदेशी खादा लगाउनुहुँदैन भन्दै फ्याँक्ने उनी अहिले त्यही लगाएर चुनावी प्रचारप्रसारमा हिँडेपछि विरोध भइरहेको छ । ‘यस्तो चाइनिज प्रयोग नगरौं,ढाकाटोपी लगाऔं,’ महानगर प्रहरी प्रमुख रहँदा विदेशी खादा बरामद गर्दै उनले भनेका थिए । अहिले उनैले सोही खादा लगाएर रमाउने गरेका छन् । 

उक्त भिडिओमा पुष्प दाहालले कमेन्ट गरेका छन्, ‘नसकिने भो हौ यिनीहरुसँग पनि ।’ ‘हैट मलाई चुनावसम्म कोमामा पुर्याउने भयो यिनीहरुको चर्तिकलाले,’ आत्मा गुरागाईंले भनेकी छन् । जेभी गजल खड्काको भनाइ छ, ‘होइन एउटा मात्र सध्ये मान्छे भेटिएन ।’ जनआस्था बाट