वीरगन्ज—पर्साको वीरगन्ज महानगरपालिका–१० मा रहेको अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सोमबार बिहान वीरगन्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्न सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो। छापाका क्रममा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कपडा बरामदपछि आक्रोशित बनेको तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरीको एक वटा वानटन र एक वटा स्कार्पियो गाडीमा क्षति पुगेको छ। उक्त आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।