डडेल्धुरा—नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमाले डडेल्धुराले गन्यापधुरा गाउँपालिकामा आयोजना गरेको गाउँपालिका–स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँकमिटी उपसभापति देउवाले पार्टी परित्याग गर्दै एमाले रोजेका हुन्। सो जानकारी एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन्।
एमाले प्रवेश गर्दै देउवाले राष्ट्र निर्माणका लागि एमाले नै सक्षम शक्ति भएको दाबी गरे। साथै, प्रतिनिधिसभा सदस्यका उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउने उद्देश्यसहित आफू एमालेमा आएको बताए।
गन्यापधुरा गाउँपालिका–३ मा देउवाको राम्रो प्रभाव रहेको बताइएको छ। उनलाई एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, प्रतिनिधिसभा उम्मेदवार स्नेहीलगायत नेताहरूले स्वागत गरेका थिए।




















