रुकुम पूर्व — पुष्पकमल दाहाल मतदाता भेटघाट अभियानका क्रममा चुनबाङस्थित भेरीडाँडा पुगेका छन्। उक्त स्थान तत्कालीन नेकपा (माओवादी केन्द्र)को ऐतिहासिक केन्द्रीय समिति बैठक बसेको स्थलका रूपमा परिचित छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार रहेका दाहालले सो स्थलको अवलोकन गर्दै दुई दशकअघिको राजनीतिक मोड सम्झिएका हुन्। विसं २०६२ असोजमा यही स्थानमा बसेको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी दलसँग सहकार्यको बाटो खोल्ने निर्णय गरेको थियो। त्यही बैठकबाट ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा सीमित गरिएको थियो।

स्थल भ्रमणका क्रममा दाहालले चुनबाङ आफूले पहिलो पटक सार्वजनिक भाषण गरेको ठाउँ भएको उल्लेख गर्दै त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रमले देशव्यापी सकारात्मक सन्देश फैलाएको बताए। उक्त कार्यक्रमको भिडियो अहिले पनि उपलब्ध रहेको र त्यसले धेरै बुद्धिजीवीको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुगेको उनको भनाइ थियो।

चुनबाङ बैठकले सशस्त्र द्वन्द्वबाट राजनीतिक रूपान्तरण र शान्ति प्रक्रियातर्फ जाने मार्ग तय गरेको उल्लेख गर्दै उनले रुकुम क्षेत्रलाई परिवर्तन र शान्ति स्थापनाको आधारभूमि भएको बताए।