झापा —नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा पुगेका छन्।  ओली काठमाडौंबाट भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।

अध्यक्ष ओली यसअघि माघ २३ गतेदेखि झापामै बसेर करिब ८० वटा गाउँमा पुग्दै स्थानीयसँग प्रत्यक्ष भेटघाटमा सक्रिय थिए।

आजको कार्यतालिकाअनुसार उनले शिक्षक भेला, धिमाल समुदायको भेला तथा मुस्लिम समुदायका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन्। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ भने प्रत्येक दिन कम्तीमा ६–७ स्थानमा भेटघाट गर्ने कार्यतालिका बनाइएको छ।

सोमबारका लागि बिहान ११ बजे दमक–५ यलम्बर चोक, ११ः५० बजे दमक–६ शंखधर चोक, दिउँसो १ बजे दमक–७ तबिन चोक, २ बजे दमक–१ हल्दार चोक, ३ बजे दमक–३ गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ आमचोकमा कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्।