धादिङ—नेकपाका नेता एवं धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र पाण्डेलाई घरदैलोका क्रममा 'सर्वसाधारण' बनेर प्रश्न गर्ने महिला राजनीतिक कार्यकर्ता रहेको खुलेको छ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा पाण्डेलाई हप्कीदप्की गर्दै "मैले एउटा लुगा फेर्न सकेको छैन, तपाईंले ३–३ पटक पार्टी फेर्नुभयो" भन्दै प्रश्न गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की स्थानीय नेतृ भएको पुष्टि भएको हो।
सुरुमा पीडित जनताको आवाज भन्दै भिडियो फैलाइए पनि उनी धादिङको सिद्धलेक (सितली) गाउँपालिका वडा नं. ६ निवासी लक्ष्मी अर्याल रहेको खुलेको छ। उनी रास्वपाको सितली गाउँपालिका उपसभापति पदमा सक्रिय रहेको जानकारी प्राप्त भएको छ।
आफ्नै क्षेत्रका पाका नेता पाण्डेलाई सार्वजनिक रूपमा अपमान गर्ने शैलीमा प्रस्तुत भएकी अर्यालले राजनीतिक रणनीतिका तहत आफूलाई 'साधारण जनता' को रूपमा मात्र प्रस्तुत गरेको भन्दै अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।
चुनावका बेला विपक्षी उम्मेदवारको छवि बिगार्न कार्यकर्तालाई सर्वसाधारणका रूपमा खटाउने र भिडियो बनाएर प्रचार गर्ने 'स्टन्ट' धादिङमा देखिएको यो घटनाले स्पष्ट पारेको छ। सुरुमा पाण्डेको आलोचनामा प्रयोग भएको सोही भिडियो अहिले अर्यालको वास्तविक परिचय खुलेपछि रास्वपाका लागि नै नैतिक प्रश्न बनेको छ।



















